काठमाण्डौ -एमसीसी अन्तर्गतका परियोजना कार्यान्वयनका लागि अमेरिकी सरकारले ५० करोड अमेरिकी डलर अनुदान दिनेछ भने नेपाल सरकारले १३ करोड डलर लगानी गर्नेछ । यो रकमबाट बन्ने आयोजना पाँच वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ । एमसीसी आयोजना अन्तर्गत काठमाण्डौको लप्सीफेदीबाट नुवाकोटको रामामाटेसम्म चार सय केभी क्षमताको प्रसारण लाइन बन्नेछ । रातामाटेबाट एउटा प्रसारण लाइन दमौली हुँदै बुटवलसम्म पुग्नेछ भने अर्को हेटौँडासम्म पुग्नेछ । रातामाटे, दमौली र बुटवलमा सबस्टेशन पनि बन्नेछन् । बुटवल पुगेको प्रसारण लाइन भारतको गोरखपुरसम्म पनि पुग्नेछ । तीन सय १२ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि ४० करोड अमेरिकी डलर खर्च हुनेछ ।
यस्तै बुटवल–गोरखपुर २२ किलोमिटर अन्तरदेशीय प्रसारण लाइन निर्माणमा पनि रकम खर्च हुनेछ । एमसीसी परियोजनाको रकम सडक स्तरोन्नतिमा पनि खर्च हुनेछ । पूर्व–पश्चिम राजमार्गको कपिलवस्तुको चन्द्रौटाबाट दाङको लमही हुँदै शिवखोलासम्मको एक सय किलोमिटर लामो सडकको स्तरोन्नति हुनेछ । यसमा अत्याधुनिक र नमुना प्रविधिको प्रयोग हुनेछ । सडक स्तरोन्नतिका लागि पाँच दशमलव दुई करोड अमेरिकी डलर खर्च हुनेछ ।
एमसीसी अनुदानअनुसार परियोजना सुरु हुनुपूर्व ६ वटा पूर्वतयारी पूरा गर्नुपर्ने हुन्छ । नेपाल–भारत सीमापार प्रसारण लाइनसँग सम्बन्धित तयारीका धेरै काम सकिएको र थप तीन वटा पूर्वतयारीको काम पनि पूरा भएको एमसीए नेपालले जनाएको छ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल ९एमसीए०का अनुसार नुवाकोटको रातमाटेमा विद्युत् सबस्टेशनका लागि जग्गा अधिग्रहणको काम भइसकेको छ ।
विद्युत् प्रसारण लाइन परियोजनाको डीपीआर तयार भइसकेको र १० जिल्लामा जाने प्रसारण लाइनका लागि रुट, घर–जग्गा सर्भेका काम पनि सकिएको एमसीए नेपालले जनाएको छ । जग्गा प्राप्ति र रुख कटानलगायतका अरु पूर्व तयारी गर्न अझै एकदेखि डेढ वर्ष लाग्ने एमसीए नेपालले जनाएको छ ।
एमसीसीबाट प्राप्त अनुदान विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतसम्भारमा खर्च गर्ने भनिएको छ। यस आयोजनाको प्रसारण लाइनसम्बन्धी अंश करिब ३१५ किमि लामो डबल सर्किटयुक्त ४०० केभी प्रसारण लाइन ९केही क्वाड–सर्किट टावरहरूसहित० डिजाइन गर्न तथा निर्माण गर्नमा केन्द्रित हुनेछ। यसले नेपालका विभिन्न नदी क्षेत्र तथा विद्यमान उच्च क्षमतायुक्त ग्रीडबीच भइरहेको जोडाइको अभावलाई सम्बोधन गर्नेछ। प्रसारण लाइनको मार्ग तथा यसका खण्डहरूको छनोट होशियारीपूर्ण विश्लेषण तथा सम्भाव्यता अध्ययनका आधारमा गरिएका थिए। उक्त विश्लेषण तथा सम्भाव्यता अध्ययनका क्रममा प्राविधिक एवं आर्थिक गुणस्तर, नेपालको मध्यम एवं दीर्घकालीन विद्युत् आपूर्तिसम्बन्धी लक्ष्यहरू तथा नेपालको आन्तरिक तथा सीमापार प्रसारण लाइन लगानी योजनाहरूसँगको सामञ्जस्यतालाई दृष्टिगत गरिएको थियो।
पाँच करोड २२ लाख अमेरिकी डलरको लगानीमा सञ्चालन गर्न लागिएको सडक मर्मत आयोजनाको उद्देश्य सडक विभाग तथा सडक बोर्ड नेपालको निर्माण क्षमता अभिवृद्धिका लागि प्राविधिक सहयोग, बढीमा ३०५ किमि रणनैतिक सडक सञ्जालको मर्मत सम्भार तथा नेपालको सडक मर्मत बजेट विस्तारलाई प्रोत्साहन गर्न मिलान कोष 'म्याचिङ फण्ड' को व्यवस्थामार्फत नेपालको रणनैतिक सडक सञ्जालको गुणस्तरमा सुधार गर्नु रहेको छ।
सडक मर्मत आयोजनाले नेपाल सरकार तथा एमसीसीका नीतिहरूको पालना गर्नुका साथै विद्यमान अन्तरराष्ट्रिय प्राविधिक, वातावरणीय तथा सामाजिक मापदण्डहरू तथा सर्वोत्कृष्ट अभ्यासहरूलाई पनि ध्यानमा राख्नेछ। यस आयोजनाका दुई प्रमुख क्रियाकलाप प्राविधिक सहयोग र रणनैतिक सडक सञ्जालको मर्मतसम्भार हुन्।
यस आयोजना अन्तर्गत उपलब्ध गराइने प्राविधिक सहयोगले सडक मर्मतसम्भारसम्बन्धी योजना तर्जुमा, मूल्याङ्कन तथा नियमित एवं आवधिक मर्मतसम्भार कार्य कार्यान्वयनसम्बन्धी सडक विभाग तथा सडक बोर्ड नेपालको क्षमता अभिवृद्धि गर्नेछ।