काठमाडौ - आर्थिक वर्ष २०७९/८० सुरु भएको छ । नयाँ आर्थिक वर्षको प्रारम्भ भएसंगै सरकारले आर्थिक वर्षको बजेट मार्फत ल्याएको नयाँ आर्थिक नीति नियमहरु पनि कार्यान्वयनमा आएको छ । नयाँ आर्थिक वर्षका लागि ल्याइएको बजेट आयातबाट उत्पादनतर्फ र बञ्चितिकरणबाट समावेशीकरणतर्फ प्रस्थान भएको सरकारले बजेट मार्फत घोषणा गरेको छ । कोभिडपछिको अर्थतन्त्र लयमा फर्कन लागेकोले राजस्व सङ्कलन सन्तोषजनक रहेको पनि सरकारले जनाएको छ । उत्पादनमा आधारित अर्थतन्त्रको विकास गरी रोजगारी सिर्जनाका लागि गरिबी निवारण गर्ने, प्राकृतिक स्रोतसाधन र पूँजीको परिचालन गरी रोजगारी सिर्जना गर्ने विषय बजेटको प्राथमिकतामा रहेको सरकारको भनाइ छ । बजेटमा कृषि, पर्यटन,उद्योग,ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । सरकारले नयाँ आर्थिक वर्षको बजेटमार्फत विभिन्न करको दर हेरफेर पनि गरेको छ । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।