काठमाडौं - सरकारले विभिन्न चार वस्तुको आयात प्रतिबन्धलाई मंसिर मसान्तसम्म निरन्तरता दिने भएको छ । सरकारले विदेशी मदिरा, ३ सय डलरभन्दा बढिको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल तथा जीप कार र भ्यान आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यी चार वस्तुको आयातलाई पूर्ण प्रतिबन्ध लगाउने प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेश गरेको छ । विदेशी मुद्राको सञ्चिति घट्दै गएको तथा व्यपार घाटा उच्च रहेको भन्दै गत वैशाख १३ बाट विभिन्न १० वस्तुको आयातमा सरकारले प्रतिबन्ध लगाएको थियो । सरकारले यीमध्ये ६ वस्तुमा लगाएको प्रतिबन्ध हटाइसकेको छ । अझैपनि मुलुकको व्यापार घाटा उच्च रहेको र विदेशी मुद्राको सञ्चिति कम रहेका कारण सरकारले प्रतिबन्धलाई निरन्तरता दिन लागेको हो ।