आइसरका गाडी अब नेपाली बजारमा नयाँ कम्पनीले बिक्री गर्ने भएको छ। यसअघिको आधिकारिक बिक्रेता इस्टर्न एजेन्सी प्रालि बन्द गरेर नयाँ कम्पनी बतास एमएडब्लू प्रालिमार्फत भोल्भो आइसरका ट्रक तथा बस बिक्री हुने भएका छन्। बतास अर्गनाइजेसनले एमएडब्लू समूहसँगको सहकार्यमा नयाँ कम्पनी स्थापना गरेर भोल्भो आइसर इन्डिया प्रालिले उत्पादन गरेका सवारीसाधन नेपाली बजारमा बिक्री गर्न सहमत भएका हुन्।
दुई समूहबीच लामो समयसम्म चलेको छलफलपछि दुवैको समान सेयर हिस्सा रहने गरी नयाँ कम्पनीमार्फत भोल्भो आइसरका सवारी बिक्री गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार बतास अर्गनाइजेसन र एमएडब्लू समूहको सहभागितामा नयाँ कम्पनी ‘बतास एमएडब्लू प्रालि’ दर्ता भइसकेको छ।
कम्पनी स्रोतका अनुसार अबको एक महिनाभित्र भोल्भो आइसरका सवारी नयाँ कम्पनीकै नाममा बिक्री सुरु गर्ने तयारी छ। दर्ता प्रक्रिया सकेर कम्पनीको संरचनागत विभाजन र कार्य बाँडफाँट गर्ने काम भइरहेको छ । अब केही दिनमै नयाँ कम्पनीको नाममा भोल्भो आइसरका सवारी आयात गर्न एलसी ९लेटर अफ क्रेडिटमार्फत गाडी मगाउने र गाडी आउनासाथ नयाँ कम्पनीको नामबाट बिक्री सुरु गर्ने तयारी भएको बतास अर्गानाइजेशनले जनाएको छ ।