काठमाडौं- वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले जानकारी दिनुभयो ।
हाल बैंकहरुले कर्जामा आधारदरमा छ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब एक प्रतिशत घटेपछि आधारदरमा पाँच प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् । यस्तै, निक्षेपतर्फको साधारण बचतमा न्यूनतम छ प्रतिशतदेखि अधिकतम आठ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि साधारण बचतमा न्यूनतम छ दशमलब ४२ प्रतिशतदेखि अधिकतम आठ दशमलब ४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो ।
यसैगरी, ब्याजदर घटाएसँगै विकास बैंकहरुले चैतमा एकवर्षे वा सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपमा नौ दशमलव ६० प्रतिशत र साधारण बचतमा न्यूनतम छ दशमलव ६० प्रतिशतदेखि आठ दशमलव ६० प्रतिशत ब्याजदर प्रदान गर्नेछन् । त्यसैगरी, नेपाल वित्तीय संस्था सङ्घ ९फाइनान्स० ले मुद्दती निक्षेपको ब्याज दर शून्य दशमलव २० प्रतिशतले घटाएको छ । सङ्घले तीन महिनामाथिको निक्षेपको ब्याज दर शून्य दशमलव १५ प्रतिशत घटाउने निर्णय गरेको छ । फाइनान्स कम्पनीहरुले एक वर्षको मुद्दती निक्षेपमा १२ दशमलव १० प्रतिशत ब्याज दिँदै आएकामा चैत १ गतेदेखि ११ दशमलव ९० प्रतिशत ब्याजदर कायम गरेका छन् ।