युक्रेनमा रुसले आक्रमण शुरु गरेको छ महिना पुरा भएको छ । यस अवधिमा हजारौं युक्रेनी नागरिक र सैनिको मृत्यु भइसकेको छ भने दर्जनौंको संख्यामा युक्रेनका भौतिक संरचनाहरु ध्वस्त भएका छन् । अमेरिकाले रुसले अझै पनि युक्रेनको सार्वजनिक र सरकारी संरचनाहरुलाई लक्षित गरी आक्रमण गर्ने योजना बनाएको दाबी गरेको छ । युक्रेनले स्वतन्त्रता दिवस मनाइरहँदा अमेरिकाले रुसबाट हुनसक्ने थप आक्रमण र क्षतिको बारेमा सचेत बनाएको हो । मंगलबार युक्रेनमा स्वतन्त्रता दिवस मनाउन सार्वजनिक विदाको घोषणा गरिएको छ तर कुनै पनि किसिमको सार्वजनिक कार्यक्रम गर्न भने रोक लाइएको छ ।
स्वतन्त्रता दिवसको अवसरमा दिनुभएको सन्देशमा युक्रेनका राष्ट्रपति भोलिदिमिर जेलेनिस्कीले रुसले कुनैपनि बेला अप्रीय काम गर्न सक्ने भन्दै आफ्ना नागरिकहरुलाई सचेत बनाउनुभएको छ । स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा रुस नियन्त्रित क्रेमिया क्षेत्रमा बमबारी र विष्फोट भएपछि रुस आक्रोशित बनेको छ । आक्रमणमा रुसले युक्रेनलाई दोष लगाएको छ । तर युक्रेनले भने उक्त आरोपको खण्डन गरेको छ ।।