प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको छ ।
यसैगरी गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी उपमन्त्री जियाले शिष्टाचार भेटवार्ता गर्नुभयो । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी सहयोग र सम्बन्धका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । साथै नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५औँ वर्षका अवसरमा दुई देशबीचका विकास साझेदारी एवं सम्बन्धका विविध विषयमा छलफल भएको थियो । गृहमन्त्री खाणले भूकम्पछिको पुनःनिर्माण र कोभिडको रोकथाम तथा नियन्त्रणमा प्राप्त अमेरिकी सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।
यस्तै परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि अमेरिकाका उपविदेशमन्त्री जिया नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको छ । परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा उहाँहरुबीच द्विपक्षीय/बहुपक्षीय मञ्चहरूमा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध र सहयोग सम्बन्धी विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।