काठमाडौ -गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता आजबाट काठमाडौमा सुरु भएको छ । पहिलो दिन पुरुष ५२ केजीमा गण्डकी प्रदेशका आकाश रानाले लुम्बिनी प्रदेशका सुरज ओली तथा एपीएफका प्रदीप महर्जनले कर्णाली प्रदेशका मोहन गुरुङलाई हराउदै क्वाटरफाइनलमा पुगेका छन् । बसन्तपुर डबलीमा भइरहेको प्रतियोगिताको पुरुष ५७ केजीमा नेपाल प्रहरी क्लबका शम्भु राजवंशीले सुदूरपश्चिमका रामबहादुर थापा तथा एपीएफका पुरन राईले बाग्मती प्रदेशका मार्सल गुरुङलाई पाखा लगाउदै क्वाटरफाइनलमा स्थान बनाए । त्यसैगरि महिला तर्फ नेपाल आर्मीकी मिनु गुरुङ क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । महिला ५१ केजीमा १३ औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्णधारी मिनुले मधेश प्रदेशकी रमिशा श्रेष्ठलाई पराजित गरिन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको क्रममा १३ औं सागका स्वर्णधारी मिनुसहित भुपेन्द्र थापा मगर र सनिल शाहीलाई व्यक्तिगत १–१ लाख नगद पुरस्कार सहित सम्मान गरिएको थियो । पाँच दिनसम्म चल्ने प्रतियोगिता शनिवार सम्पन्न हुनेछ ।।