बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित दर्ता गरेको छ । ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भुटानलाई ४-० गोल अन्तरले हराउँदै नेपालले पहिलो जित निकालेको हो । नेपालको जितमा अमिषा कार्कीले ह्याट्रिक गरिन् । भुटानको यो लगातार दोस्रो हार हो । भुटान पहिलो खेलमा भारतसँग १२-० ले पराजित भएको थियो । पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको थियो । नेपालले अन्तिम खेलमा भोलि भारतसँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।