स्टारबोस कफीको पहिलो आउटलेट दरबारमार्गमा भव्य उद्घाटन, अभिनेत्री नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर
अन्तर्राष्ट्रिय स्तरको क्याफे अनुभव अब नेपालमै, दरबारमार्गमा खुल्यो स्टारबोस कफीको पहिलो आउटलेट
काठमाडौं । अन्तर्राष्ट्रियस्तरको क्याफे अनुभव नेपालमै पुर्याउने उद्देश्यसहित स्टारबोस कफीले आफ्नो पहिलो आउटलेट काठमाडौंको दरबारमार्गमा सञ्चालनमा ल्याएको छ । शनिबार आयोजित विशेष समारोहमा अभिनेत्री तथा मिस नेपाल २०२० नम्रता श्रेष्ठ, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र टक्सार ग्रुप अफ कम्पनीका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कफी हाउसको उद्घाटन गरेका हुन् ।
टक्सार ग्रुप अफ कम्पनीले संचालनमा ल्याएको स्टारबोस कफीले आधुनिक वातावरण, विश्वस्तरीय सेवा र उच्च गुणस्तरका कफी तथा विभिन्न परिकारमार्फत नेपालमा क्याफे संस्कृतिलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको छ । उद्घाटन समारोहमा अभिनेत्री नम्रता श्रेष्ठलाई आधिकारिक ब्रान्ड एम्बेसडरका रूपमा सार्वजनिक गरिएको थियो । ब्रान्डप्रति ग्राहकको विश्वास र पहिचान मजबुत बनाउन नम्रताको छवीले ठूलो योगदान दिने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
समारोहका प्रमुख अतिथि नबिल बैंकका सीईओ मनोज ज्ञवालीले चुनौतीपूर्ण आर्थिक अवस्थाबीच नयाँ व्यवसाय सुरु हुनु सकारात्मक सन्देश भएको बताए । उनका अनुसार स्टारबोस कफी हाउसले अन्य व्यवसायीलाई समेत नेपालमै नयाँ अवसर खोज्न प्रेरित गर्नेछ ।
उद्घाटनमा सहभागी पत्रकार ऋषि धमलाले सञ्चारकर्मीहरूसँगको कुराकानीमा जेनजी आन्दोलनका कारण प्रभावित व्यवसायीलाई सरकारले राहत दिनुपर्ने आवश्यकता औंल्याए । उनले जेनजी आन्दोलनले नेपालमा ठूलो परिवर्तन ल्याउँदै नयाँ व्यवसायिक वातावरण निर्माण गरेको उल्लेख गरे ।
सो अवसरमा टक्सार ग्रुपका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले विभिन्न चुनौतीबीच पनि स्टारबोस कफी सञ्चालनमा ल्याउन सफल भएको बताए । उत्कृष्ट सेवा, स्वादिलो कफी र शान्त वातावरणको साथ स्टारबोसलाई नेपालकै प्रमुख क्याफे ब्रान्ड बनाउने लक्ष्य समूहले राखेको उनले बताए ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप सेवा प्रदान गर्ने उदेश्यसहित स्टारबोस कफीले विशेषज्ञहरू समावेश भएको बलियो टिम तयार पारेको छ । युवालाई रोजगारी, सीप विकास र उद्यमशीलता प्रोत्साहन गर्नका लागि पनि यो परियोजना महत्वपूर्ण हुने समूहले विश्वास व्यक्त गरेको छ ।
दरबारमार्गको पहिलो आउटलेट सञ्चालन पछि स्टारबोस कफीले तनकुनेमा दोस्रो र ललितपुरको इमाडोलमा तेस्रो शाखा चाँडै सञ्चालन गर्ने तयारी गरिरहेको छ । यस्तै, आगामी दिनमा नेपालका प्रमुख शहरहरूमा फ्रेन्चाइज विस्तार गर्ने योजना कम्पनीले अघि सारेको छ ।
स्टारबोस कफी टीजी भेन्चर्स अन्तर्गतको पहिलो हस्पिटालिटी प्रोजेक्ट हो । टीजी भेन्चर्स स्वयं टक्सार ग्रुप अफ कम्पनीजको एक प्रमुख व्यापारिक इकाइ हो, जसले विभिन्न क्षेत्रमा सक्रियता जनाएको छ । कफी व्यवसायमार्फत टक्सार ग्रुपले नेपालको हस्पिटालिटी तथा क्याफे उद्योगमा औपचारिक प्रवेश गरिसकेको छ ।
कार्यक्रमा टक्सार ग्रुप अफ कम्पनीका सह-संस्थापक तथा फ्रान्चाइज प्रमुख दिर्घप्रसाद कर्माचार्य, स्टारबोस कफीका एम.डी. पूर्ण श्रेष्ठ, स्टारबोस कफीका महाप्रबन्धक सुवास अधिकारी, कलाकार यमन श्रेष्ठ लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।