काठमाडौं- सन् २०२२ देखि सुरु भएको रुस-युक्रेन युद्धमा अवैध बाटोबाट रुसी सेनामा भर्ना भएका थप एक नेपाली युवाले ज्यान गुमाएका छन्। अवैध रूपमा रुस पुगेर सेनामा कार्यरत पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका-५ जैमा कसला गाउँका ४४ वर्षीय तिर्खबहादुर बुढाथोकीको ज्यान गुमेको छ।
२०८० असोजमा भारत हुँदै अवैध रूपमा रुस पुगेर सेनामा भर्ना भएका तिर्खबहादुरको फागुन २४ गते आक्रमणमा परेर ज्यान गएको जनाइएको छ। करिब डेढ वर्षदेखि रुसी सेनामा कार्यरत उनीलगायत रुसी सेनामा कार्यरत ४ जनाको टोलीमाथि युक्रेनी सेनाले ड्रोन आक्रमण गरेको थियो। उक्त टोलीमा १ जना नेपालीसहित ३ रुसी सेना भएकामा तिर्खसहित दुई जनाको घटनास्थलमै ज्यान गयो भने अन्य दुई जना घाइते भएका थिए। उनी मारिएको परिवारले पुष्टि गरेको छ।
करिब अढाई वर्ष नेपाली सेनामा कार्यरत रहेका उनी २०७४ मा आफ्नै वडाको निर्वाचनमा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। तिर्खका बुबाआमा, श्रीमतीसहित दुई सन्तान छन्। तिर्खको मृत्यु भएको खबर पाएपछि परिवारलाई सान्त्वना दिन स्थानीय जनप्रतिनिधि उनको घरमा पुगेका छन्।
यसअघि रुसी सेनामा कार्यरत अन्य दुई रोल्पालीले ज्यान गुमाइसकेका छन्। अघिल्लो वर्ष गैरीगाउँका एक युवाले र नुवागाउँ निवासी अर्का युवाले रुसमै युक्रेनी सेनाको आक्रमणमा परेर ज्यान गुमाएका थिए। रुसी सेनामा भर्ती भएर युद्धको क्रममा मारिएका नेपाली नागरिकको संख्या १६ पुगेको पीडित परिवारले दाबी गरेका छन्।
उनीहरुको दाबी अनुसार दोलखाका राजकुमार रोका, कैलालीका भरतबहादुर शाही, कास्कीका देवान राई, स्याङ्जाका प्रितम कार्की र हरिप्रसाद अर्याल, इलामका गंगाराज मोक्तान, कपिलवस्तुका रुपक कार्की, गोर्खाका सन्दीप थपलिया, दार्चुलाका कुन्दन सिंह नगाल, धादिङका पूर्णबहादुर गुरुङ र राजकुमार गिरीको मृत्यु भएको छ।
परिवारजनले दिएको जानकारी अनुसार बाँकेका संजय केसी, लमजुङका साजन गुरुङ र सन्तोष गुरुङ, रसुवाका सुन्दर मोक्तान र दाङका जितबहादुर पुनको समेत युद्धमा मृत्यु भएको छ। सरकारले भने अहिलेसम्म १२ जनाको मृत्यु भएको पुष्टि गरेको छ। यसैबीच, पीडित परिवारले रुसमा घाइते १ सय १६ जना, परिवारको सम्पर्कमा नआएको २ सय ७२ जना र परिवारसँग सम्पर्कमा रहेकाहरु समेत गरी ५ सय भन्दा बढी युवा रुसी सेनामा कार्यरत रहेको दावी गरेका छन्। उनीहरुले रुस–युक्रेनमा अलपत्र परेका र बेपत्ता भएका व्यक्तिको खोज र उद्दार गरिदिन सरकारसँग आग्रह गरेका छन्।