भारत सरकारले पाकिस्तानमा मिसाइल हमला गरेको छ । भारतीय सेनाका अनुसार पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको हो ।
भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो।
भारतीय अनलाइन द भाष्करका अनुसार भारतले आतंकवादीहरुलाई लक्षित गरी मुजफ्फराबाद, बाघ, गुलपुर, कोटली, भीमबेर, सियालकोट, मुरिदके, चक अमरु र बहावलपुरमा एयरस्ट्राइक गर्दा ३० जनाको मृत्यु भएको जनाएको छ ।
यो कारबाही अप्रिल २२ मा भारत-नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ।
भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमण पूर्णरूपमा लक्षित र सटीक थियो। केवल चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको हो।”