स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हराएको छ ।
नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५२ रन जोडेपछि खेल सुपर ओभरमा धकेलियो ।
सुपर ओभरमा नेपालले १९ रन जोड्दा जवाफमा नेदरल्यान्ड्सले पनि १९ रननै जोडेपछि खेलमा दोस्रो सुपर ओभर भएको थियो ।
दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले १७ रन जोड्दा नेपालले जवाफमा १७ रन नै बनाएपछि खेल सुपर ओभरमा लम्बियो ।
तेस्रो सुपर ओभरमा नेपालले ४ बलमा कुनै रन नजोडी २ विकेट गुमायो । माइकल लेभिटले सन्दीप लामिछानेलाई पहिलो बलमै छक्का प्रहार गरेर जित पक्का गरे ।
पहिलो सुपर ओभरमा बायाँ हाते स्पिनर ड्यानीएल डोरमविरुद्ध सुपर ओभरमा नेपालले १९ रन जोड्यो । कुशल भुर्तेलले २ छक्कसहित १८ रन जोडे ।
जवाफमा नेदरल्यान्ड्सका लागि माइकल लेभिटले पहिलो बलमै छक्का प्रहार गरेपनि त्यसपछि करणले बाँकी ३ बलमा ३ रन मात्र खर्चिए । पाँचौ बलमा म्याक्स ओ डाउडले छक्का प्रहार गरेपछि अन्तिम बलमा नेदरल्यान्ड्सलाई जितका लागि ५ रन आवश्यक थियो । म्याक्सले अन्तिम बललाई चौका प्रहार गरेपछि खेल अर्को सुपर ओभरमा लम्बिएको थियो ।
दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले स्पिनर ललित राजवंशीविरुद्ध १७ रन जोड्यो । जवाफमा कप्तान रोहित पौडेलले काइल क्लाइनलाई पहिलो बलमै छक्क प्रहार गरे । दोस्रो बलमा सिंगल लिए । तेस्रो बलमा दीपेन्द्रसिंह ऐरीले चौका प्रहार गरे । चौथो र पाँचौ बलमा दीपेन्द्रले बल छुन सकेनन् । तर अन्तिम बलमा छक्का प्रहार गरेपछि खेल तेस्रो सुपर ओभर पुग्यो ।
तेस्रो सुपर ओभरमा ज्याक लायन क्यासेले पहिलो बलमा कप्तान रोहितलाई क्याच आउट गराए । त्यसपछि रुपेश सिंहले २ बल डट खेले । चौथो बलमा उनी कट बिहाइन्ड भए । लगत्तै माइकल लेभिटले सन्दीप लामिछानेलाई पहिलो बलमै छक्का प्रहार गरेर जित पक्का गरे ।
त्यसअघि लक्ष्य पछ्याउने क्रममा १९ औं ओभरको अन्तिम बलमा कप्तान रोहित क्याच आउट भएपछि नेपाल संकटमा परेको थियो । ३५ बलमा ३ चौका र २ छक्का प्रहार गरेका उनले सर्वाधिक ४८ रनको योगदान दिए । रोहितको प्रस्थानसँगै अन्तिम ओभरमा नेपाललाई जितका लागि १६ रन आवश्यक थियो ।
सुरुवाती २ बलमा ३ रन जोडेपछि स्ट्राइकमा नन्दन यादव आए । उनले तेस्रो बलम चौका र त्यसपछि लगातार २-२ रन लिए । अन्तिम बलमा जितका लागि ५ रन आवश्यक पर्दा नन्दनले चौका प्रहार गरेपछि खेल सुपर ओभरमा पुगेको थियो ।
लक्ष्य पछ्याउन उत्रिएको नेपालले दोस्रो ओभरको पहिलो बलमै लोकेश बमलाई गोल्डेन डकमा गुमायो । डेब्यु गरिरहेका बेन फ्लेचरले लोकेशलाई विकेटकिपरको हातबाट क्याच गराए । लगत्तै अर्को ओभरको पहिलो बलमा १ रन जोडेका अनिल शाह काइल क्लाइनको बलमा क्याच आउट भए ।
कुशल भुर्तेलले रोहित पौडेलसँग तेस्रो विकेटका लागि १९ बलमा ४३ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुर्याए । तर ड्यानीएल डोरमले छैटौं ओभरमा कुशल र आठौं ओभरमा दीपेन्द्रको विकेट लिए । कुशल २३ बलमा ५ चौकासहित ३४ रन जोड्दै क्याच आउट भएका थिए । दीपेन्द्र ७ बलमा ३ रन जोडेर पेभेलियन फर्किए ।
डेब्यु गरिरहेका किरण ठगुन्नाले पनि क्रिजमा संघर्ष गरे । बायाँ हाते स्पिनर डोरमबाट बोल्ड हुनुअघि उनले २५ बलमा विना कुनै बाउन्ड्री १५ रन मात्र बनाए । १४ औं ओभरमा उनी आउट हुँदा नेपाल ८७-५ को स्थितिमा थियो ।
छैटौं विकेटका रुपमा रुपेश सिंह ज्याक लायन क्यासेको बलमा स्कट एडवार्ड्सको सानदार क्याचको शिकार बने । उनले १४ बलमा १ चौका र १ छक्काको सहयोगमा १९ रन बनाए ।
त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन जोडेको थियो । नेदरल्यान्ड्सका लागि मध्यक्रमका ब्याटर तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिए । तल्लोक्रममा सकिब जुल्फिकरले आक्रामक ब्याटिङ गरेपछि नेदरल्यान्ड्सले १ सय ५० रनको आँकडा पार गर्न सम्भव भएको थियो ।
ओपनर म्याक्स ओ डाउड १९ र माइकल लेभिट २० रन जोडेर आउट भए । ललितले चौथो ओभरको पहिलो बलमै ११ बलमा २ चौका र १ छक्का प्रहार गरेका म्याक्सलाई आउट गरेर नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि सन्दीपले सातौं ओभरमा लेभिट र स्कट एड्वार्ड्स (१) लाई आउट गरेर नेपाललाई खेलमा फर्काए ।
१३ औं ओभरमा नोआ क्रोस आउट हुँदा नेदरल्यान्ड्स ९०-५ को स्थितिमा थियो । तर डेथ ओभरमा जुल्फिकरले आक्रामक ब्याटिङ गर्दा नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पायो । अन्तिम ओभरमा आउट भएका तेजाले ३७ बलमा १ छक्कासहित ३५ रन जोडे । जुल्फिकर १० बलमा १ चौका र २ छक्कासहित २२ रनमा नटआउट रहे ।
नेपालका लागि स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिए । उनले ४ ओभरमा मात्र १८ रन खर्चेका थिए । ललित राजवंशीले पनि ४ ओभरमा मात्र २२ रन दिएर १ विकेट हात पारे । नन्दन यादवले २ तथा कुशल भुर्तेलले १ विकेट लिए ।
अलराउन्डर रुपेश सिंह र ब्याटर किरण ठगुन्नाले आज नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि डेब्यु गरे ।
मध्यक्रममा आक्रामक ब्याटिङ गर्ने किरणले घरेलु क्रिकेटमा सुदूरपश्चिम प्रदेश र नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले करण केसीको हातबाट नेपालका लागि ५० औं टि२०आई क्याप प्राप्त गरे ।
रुपेशले मधेश प्रदेशको प्रतिनिधित्व गर्दै प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । बलिङ अलराउन्डर उनले एनपिएलमा भने चोटका कारण जनकपुर बोल्ट्स बिचमै छाडेका थिए । रुपेशले नेपालका लागि ५१ औं क्याप प्राप्त गरेका हुन् ।
सिरिज अन्तर्गत आइतबार भएको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराइसकेको थियो ।