भारतको उत्तराखण्डको विभिन्न ठाउँमा बन्धक बनाइएका ५७ जना नेपालीलाई उद्धार गरेर नेपाल ल्याइएको छ। आज पश्चिमी नाका गड्डाचौकीबाट उनीहरुलाई स्वदेश ल्याइएको हो ।
नयाँदिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा उत्तराखण्डको विभिन्न ठाउँमा अमानवीय रुपमा बन्धक बनाइएका उनीहरूको उद्धार भएको हो। उद्धार गरेर बुधबार गड्डाचौकी नाका भएर स्वदेश ल्याइएका नेपालीहरूलाई प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले स्वागत गर्नु भयो ।
ढकालका अनुसार, उद्धार गरिएका ५७ युवाहरू सुदूरपश्चिमदेखि सुदूर पूर्वसम्मका छन्। उनीहरुलाई बुधबार महेन्द्रनगरमै बस्ने प्रबन्ध गरिएको छ भने बिहीबार भोली मात्रै उनीहरुलाई गन्तव्यमा पठाइने छ।
चितवनका १०, कैलालीका ९, सुनसरीका ५, पाँचथर, तेह्रथुम र उदयपुरका ४/४, दाङ, स्याङ्जा र बाँकेका ३/३, डोटी, ताप्लेजुङ, र धादिङका २/२, सर्लाही, कास्की, रुकुम, बाग्लुङ, इलाम र रुपन्देहीका १/१ गरी ५७ जना बन्धकलाई उद्धार गरेर स्वदेश फिर्ता ल्याइएको हो।
उनीहरू आकर्षक रोजगारीको लोभमा उत्तराखण्ड पुगेर महिनौँदेखि बन्धक बनाइएका र ठगिएका थिए ।