काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको विविधतायुक्त समाजमा रहेका विभिन्न जातजातिका मौलिक भाषा, संस्कृति, नाटक, गीत र सङ्गीतमा रहेको विविधताले नेपाली समाजलाई एकढिक्का बनाउँदै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिएको बताउनुभएको छ ।
नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८१ वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको अनुपम भौगोलिक विविधता जस्तै नेपाली समाज पनि विविधतायुक्त भएको भन्दै नेपाल जस्तो विविध जातजाति, भाषाभाषी र सांस्कृतिक विशेषता रहेको मुलुकका लागि सङ्गीत र नाटक केवल मनोरञ्जनका साधन मात्र नभई मौलिक पहिचानको धरोहर पनि भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले मौलिक भाषा, संस्कृति, नाटक, गीत र सङ्गीतका माध्यमबाट नेपाली लोक जीवन, मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवर्द्धन गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्नुभयो । उहाँले हाम्रो कला, संस्कृति, सङ्गीत र नाट्यको संरक्षण, संवर्द्धन गरी विश्वव्यापीकरणतर्फ ध्यान दिन आवश्यक रहेको बताउँदै नेपाली मौलिक भाका, राग र अभिनय शैलीले संसारकै ध्यान तान्न सक्ने स्पष्ट पार्नुभयो ।
राष्ट्रपति पौडेलले मुलुकमा राजनीतिक परिवर्तनसँगै कलाप्रति राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन भएर नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा प्रतिष्ठान जस्ता विभिन्न विधागत प्रज्ञाप्रतिष्ठान स्थापना हुन सम्भव भएको बताउनुभयो । उहाँले समय र समाज गतिशील भएजस्तै समय र समाजको ढुकढुकी प्रतिविम्बित हुने गीतसङ्गीत, कला र संस्कृतिले हाम्रो पहिचानलाई जीवन्त राख्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘साँच्चिकै भन्नुपर्दा कला र संस्कृति जोगाउनु भनेको राष्ट्रको आत्मा जोगाउनु हो । हाम्रो मौलिक कला र सृजना नेपाल र नेपालीलाई विश्वभर चिनाउने एउटा सशक्त माध्यम भएकाले यसको विकास एवम् प्रतिभाको सम्मानमा राज्यले कन्जुस्याइँ गर्न हुँदैन भन्ने मलाई लाग्दछ ।’