काठमाडौं -पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमाले राजनीतिमा फर्किने तयारीमा रहेको सुनाएकी छिन् । उनले जनताको सुख र राष्ट्रको समृद्धिका लागि आफ्नो दायित्व पूरा भइनसकेकाले फेरि सक्रिय राजनीतिमा फर्किने संकेत गरेकी हुन् ।
भण्डारीले आफूले एमालेको सदस्यता नवीकरण गरेको र अब एमालेको परिवारको सदस्यका रूपमा राजनीतिमा सक्रिय रहने भण्डारीको भनाइ थियो ।
शनिबार जननेता मदन भण्डारीको ७४औं जन्मजयन्ती समारोह कार्यक्रममा बोल्दै उनले एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा समेत गरिन् ।
उनले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एमाले परिवारको एक सदस्यको रुपमा पुनः जोडिएको घोषणा गरेकी हुन् ।
उनले देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य रहेको बताइन् । राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका बुझाएका छन् र थप परिपक्व समेत बनाएको बताइन् ।
जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सामाजिक–आर्थिक रूपान्तरण गर्ने दायित्व बाँकी नै रहेको उनले बताइन् ।
उनले भनिन्, ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु । र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन्,’ उनले भनिन्, ‘जननेताले भन्ने गर्नुहुन्थ्यो– जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो– राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु । व्यवहारका कसीबाट खारिएका यी भनाईलाई आदर्श मानेर म समर्पित बनिरहनेछु ।’