नेपाल एसिसी यु-१६ इस्ट जोन कपको उपाधि जितेको छ । सिंगापुरलाई २ विकेटले हराउँदै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो।
जितको लागि १ सय १४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर परिमार्जन यादव १३ रनमा र शिवांश बजागाई २० रनमा आउट भए। लगतै रौनक श्रीवास्तव रन नजोडी आउट भए। तीन विकेटको नोक्सानीमा नेपालले ४० रन जोड्यो।
चौथो विकेटको रूपमा प्रसिद्ध जैसी १७ रनमा र सुगम बुढाथोकी १ रनमा आउट भए। कुनै पनि समय नेपालले साझेदारी बनाउन सकेन।
शुभम खनाल १९ रनमा, सचिन णट्ट १ रनमा र विपिन प्रसाद शर्मा शुन्यमा आउट हुँदा नेपाल दबाबमा आयो। ९२ रन जोड्दा ८ विकेट गुमाएको थियो। तर यसपछि जोय थापा अविजित २४ र अभय यादव अविजित १० रनमा नटआउट रहँदै नेपाललाई २ विकेटको जित दिलाउन सफल रहे।
बलिङमा कापिस भेन्कटरमन विकेट लिङदस युभान पाण्डेले २ विकेट लिए।
त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले नेपालको कसिलो बलिङको सामू ४०.५ ओभरमा अल आउट भएको थियो ।
सिंगापुरका रोहन अस्टिनले ८४ बलको सामना गर्दै सर्वाधिक २३ रन बनाए । कप्तान रियान नायकले ११ बलमा ३ चौकाको सहयोगमा १५ रन जोडे ।
वेदान्स गुप्ता १२ रनमा अविजित रहँदा आकाश तेजा १० रनमा आउट भए । सिंगापुरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका सुशील बहादुर रावल र अभय यादवले समान ३, शुभम खनालले २ तथा कप्तान विपिन प्रसाद शर्माले समान १ विकेट लिए ।
घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनल पुगेको थियो। सिंगापुरले सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो ।
नेपाल र सिंगापुर एकै समूहमा थिए । समूह चरणमा नेपालले सिंगापरलाई ६ विकेटले पराजित गरेको थियो ।
गत संस्करणको फाइनलमा मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन भएको थियो ।