काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रका नेता कार्यकर्ताले नेतृत्व लिएका हरेक सामाजिक संघ संस्थाहरूमा माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्नेगरी मौलिक सोच झल्किनु पर्ने बताउनुभएको छ।
नेकपा ९माओवादी केन्द्र० समाज कल्याण विभागद्वारा आज काठमाडौंमा आयोजित “सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम” मा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो।
अध्यक्ष प्रचण्डले सामाजिक संघसंस्थामा माओवादी केन्द्रको हस्तक्षेप सकारात्मक हुनुपर्नेमा जोड दिँदै बदलिएको राजनीतिक परिस्थितिमा यस्ता संस्थामा सहभागी भई सकारात्मक भुमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो।“नेपाली समाजवादको बाटो कस्तो हुने भन्ने कुरा विभिन्न सामाजिक संघसंस्थामा हाम्रो भूमिका कस्तो हुन्छ भन्नेमा भर पर्छ,” उहाँले भन्नुभयो ।
अध्यक्ष प्रचण्डले माओवादी नेता तथा कार्यकर्ताहरू विभिन्न संघसंस्थामा संलग्न भए पनि खुल्न नचाहने प्रवृत्ति परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो। माओवादीले नेतृत्व गर्ने संस्थामा जनताले फरकपन देखाएर जनतामा स्थापित हुनुपर्नेउहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “जहाँ जहाँ हाम्रा साथीहरू सहभागी हुनुहुन्छ, ती संस्था उत्कृष्ट हुनुपर्यो र सामाजिक संघ संस्थालाई कसरी बुझ्ने भन्नेमा पार्टीले लिएको निर्णय अनुसार जनतामा मात्रै होइन, पार्टीको तल्लो तहसम्म नै एउटै धारणा बनाउन आवश्यक छ।”
अध्यक्ष प्रचण्डले पार्टीको मूल विचार, त्याग र तपस्याको इतिहासलाई व्यवहारमा देखिने गरी माओवादी केन्द्रका नेताकार्यकता सहभागी रहेका संघसंस्थामा स्पष्ट नीति, कार्यदिशा र एकरूपताका हुनुपर्ने बताउनुभयो। देशभरका स्थानीय तहको अवस्था हेर्दा त्याग र बलिदानीको इतिहासका कारण पनि माओवादीले नेतृत्व लिएका स्थानहरू नै अगाडि रहेको उहाँले बताउनुभयो।