लमजुङ- निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेको अवस्थामा बेसीशहर नगरपालिकाका मेतर गुमानसिंह अर्यालले आचारसंहिता उल्लंघन गरेका छन् ।
मेयर अर्याले वडा नम्बर–२, चिसापानीमा आयोजित सामुदायिक भवन उद्घाटन गरेको विषयमा आचारसंहिता उल्लंघन गरेका हुन् ।
फागुन ६ गते सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख अर्यालले औपचारिक रूपमा भवन उद्घाटन गरेका थिए । कार्यक्रममा उपप्रमुख पद्मा गुरुङ र वडा अध्यक्ष मदन राना समेत सहभागी भएका थिए । निर्वाचन अवधि सुरु भइसकेको अवस्थामा जनप्रतिनिधिको यस्तो सहभागिताले कानुनी प्रश्न खडा गरेको भन्दै स्थानीयस्तरमा आलोचना सुरु भएको छ ।
निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद–३ को ‘ङ’ अनुसार, स्थानीय कार्यपालिकाका सदस्यहरू (प्रमुख, उपप्रमुख र वडा अध्यक्ष) आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने दायराभित्र पर्दछन् र सोही आचारसंहिताको दफा ५ (घ) मा “कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने वा सोका लागि अनुदान दिने जस्ता कार्यक्रम गर्न नहुने” उल्लेख छ । त्यसैगरी दफा ५ (ग) मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत बाहेक अन्य नयाँ नीति, योजना वा कार्यक्रम घोषणा, स्वीकृत वा सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ ।
कानुनविद्हरूका अनुसार निर्वाचन अवधि सुरु भएपछि जनप्रतिनिधिले आफ्नो पद र हैसियत प्रयोग गरी उद्घाटन वा मतदातालाई प्रभाव पार्न सक्ने सार्वजनिक कार्यक्रममा सहभागी हुनु आचारसंहिताको भावना विपरीत ठहरिन्छ। “निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन यस्तो प्रतिबन्ध राखिएको हो,” एक कानुनविद्ले भने ।
यद्यपि आयोजक पक्षले कार्यक्रम पूर्वनिर्धारित रहेको र उद्घाटन कार्यक्रम निर्वाचन लक्षित नभएको दाबी गरिएको छ ।
यस विषयमा नगर प्रमुख अर्यालको औपचारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन ।
निर्वाचन आचारसंहिता कार्यान्वयन र अनुगमन गर्ने अधिकार निर्वाचन आयोग नेपालसँग रहेको छ । आयोगले आवश्यक ठानेमा छानबिन गरी स्पष्टीकरण माग्न वा कारबाही प्रक्रिया अघि बढाउन सक्ने प्रावधान रहेको छ । हालसम्म आयोगबाट औपचारिक धारणा सार्वजनिक भएको छैन ।