काठमाडौं- एन्फा महिला लिगको अन्तिम चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई २-०ले हराउँदै लिगको शीर्षस्थानमा उक्लिएको छ। ३ खेलमा पुलिसको ७ अंक पुगेको छ।
एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले आठौं मिनेटमा अग्रता बनायो। बिर्सना चौधरीको पासमा कप्तान नीरू थापाले चेस्ट कन्ट्रोल गरेर हानको भलि प्रहार गोलमा परिणत भयो।
पहिलो जितको खोजीमा रहेको बागमतीले पहिलो हाफमा पोष्ट अटयाक समेत गर्न सकेन। पहिलो हाफमा पुलिस १-० ले अगाडि बढ्यो।
खेलमा पुलिसले पकड बनायो। बल नियन्त्रणमा पनि राख्यो। तर अटयाकमा भने पुलिस पनि चुस्त देखिएन। दोस्रो गोल गर्न ८२ औं मिनेट कुर्न पर्यो। यो पटक पनि बिर्सनाको असिस्टमा राष्ट्रिय टिमकी सदस्य पुजा रानाले बक्सभित्रबाट गोल गरिन्।
अन्तिम चरणमा पुलिसको तेस्रो खेलमा यो दोस्रो जित हो। पहिलो खेलमा वालिङलाई ५-० ले हराएको पुलिसले दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबसँग बराबरी खेलेको थियो।
एक खेल कम खेलेको एपिएफको ६ अंक छ। आज पुलिस दुई महत्वपूर्ण खेलाडी समिक्षा अधिकारी र मनिषा राउत बिना नै उत्रेको थियो।
बागमतीको यो लगातार तेस्रो हार हो। यसअघि बागमती आर्मीसँग २-० र एपिएफसँग ५-१ ले हारेको थियो। बागमती अंक बिहिन छ। भोलि वालिङ र आर्मीबीच खेल हुनेछ।
लिगको दोस्रो चरणमा ५ टिमबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणमा कुल २४ खेल हुनेछन। २० खेलपछि चार टिमले प्लेअफका स्थान बनाउनेछन।
माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागिय टोलीहरु नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, आर्मी , वालिङ नगरपालिका र बागमती सहभागिता रहेको छ।