शिलान्यास भएको करिब ३९ महिनामा करिब ४८ प्रतिशत काममात्रै सकिएको अवस्थामा बालुवा अभाव भएपछि नागढुंगा सुरुङमार्ग निर्माणको काम ठप्प भएको छ ।
गृह मन्त्रालयले अवैध क्रसरहरु बन्द गर्न निर्देशन दिएपछि सुरुङमार्ग खने लगत्तै भित्तामा फ्याक्नुपर्ने बालुवाको अभाव भएको बताइएको छ । ४२ महिनाभित्र सक्ने गरी ४ कात्तिक २०७६ मा सुरुङमार्ग आयोजना निर्माण सुरु भएपनि मुआब्जासहित पूर्वतयारीको काममा भएको ढिलाइले आयोजना निर्धारित समयमा नसकिने निश्चित भइसकेको छ ।
लक्ष्यअनुसार काम हुने हो भने अबको ४ महिना अर्थात् आगामी वैशाखभित्र आयोजनाको काम सकिनुपर्छ । तर, अहिले मुख्य सुरुङमार्गको काम नै ठप्प भएको छ ।