नेपाली कांग्रेसले उपराष्ट्रपतिको निर्वाचनमा रामसहाय प्रसाद यादवको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पर्सी हुने निर्वाचनमा यादवको पक्षमा मतदान गर्न संघीय र प्रदेश सभाका सांसदहरुलाई निर्देशन दिएको हो। पार्टी प्रवक्ता डाक्टर प्रकाशशरण महतले गठबन्धनकातर्फका उम्मेद्वार यादवलाई मत दिने निर्णय भएको जानकारी दिनुभयो ।
बैठकले आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ लगायतका उपनिर्वाचन हुने अन्य क्षेत्रको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारीका उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देशन गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई बधाई दिनुका साथै मतदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।