काठमाडौ -नेपाली सेनाले आयोजना गरेको लघु चलचित्र प्रतियोगिता २०७८ मा इन्ग कोइन्च होपो सुनुवारले निर्माण गर्नुभएको ‘सेनाको चेली’ चलचित्र उत्कृष्ट घोषित भएको छ । प्रतियोगितामा सहभागीता जनाएका रवि तामाङको ‘डोल्मा’ दोस्रो र अनिल कुमार महर्जनको ‘गौरव २’ तेस्रो स्थान हाशिल गर्न सफल भए । जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले प्रथम हुने लघुचलचित्र सेनाको चेलीका निर्माता सुनुवारलाई नगद दुई लाख रूपैयाँ र प्रशंसापत्र सहित सम्मानित गर्नुभयो । यसैगरी दोस्रो हुने चलचित्रलाई एक लाख ५० हजार र तेस्रो हुने चलचित्रलाई एक लाख रुपैंया नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरियो । प्रत्येक वर्ष नेपाली सेनाले लघु चलचित्र प्रतियोगिता आयोजना गरी उत्कृष्ट लघु चलचित्रलाई पुरस्कृत गर्दै आएको छ । कार्यक्रममा नेपाली सेनाद्वारा प्रकाशित सिपाही वार्षिक र द शिवपुरी जर्नलका उत्कृष्ट तीन लेखलाई समेत पुरस्कृत गरिएको थियो । यसैगरी नेपाली सेना फोटो प्रतियोगीता —२०७८ का प्रतियोगी १० जनालाई र फोटो तथा विविध प्रदर्शनी—२०७८ का उत्कृष्ट प्रतियोगीहरुलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।।